२१ असोज २०८२ ,धादिङ
नेत्रावती गाउँपालिका–१ मा रहेको मुख्य ग्रामीण सडकको अवस्था अत्यन्तै दयनीय बनेको छ । बर्षेनी पहिरोका कारण बाटो भत्किँदा स्थानीय बासिन्दाले दैनिक आवतजावतमा निकै कठिनाइ भोग्नुपरेको छ ।
घासदाउरा गर्नेदेखि विद्यालय जाने विद्यार्थीसम्मका लागि पनि हिँड्नै नसकिने अवस्था बनेको छ । स्थानीय जितबहादुर अधिकारीले “दैनिक कामकाजका लागि पनि बाटो छैन, वर्षा लाग्यो कि पहिरोले सारा बाटो बगाउँछ,” भन्दै दुखेसो पोख्दै “हामीलाई आवतजावत गर्न पनि निकै सकस भएको छ,” भने ।
स्थानिय कपिल नेपालका अनुसार माथिल्लो बस्तीका बासिन्दाले वर्षा हुँदा भल पानी सोही पहिरो तिर पठाउने गरेकाले बाटो अझ बढी बिग्रिएको हो । “शुरुका दिनमै बिना अध्ययन डोजर चलाउँदा यो अवस्था आएको हो,” उनले बताए ।
यहिँ दशैंमा वडा नं. १ का अध्यक्ष ठाकुर गुरुङको पहलमा डोजर लगाएर मर्मत कार्य सुरु गरिएको थियो । तर काम अझै पूरा हुन सकेको छैन । दशैंका बेला घर फर्किने यात्रुहरूलाई पनि कठिनाइका बीच बाटो प्रयोग गर्नुपरेको थियो ।
वडा कार्यालयको सक्रियता भए पनि कमजोर जमिन र लगातारको वर्षाले गर्दा समस्या दोहोरिँदै आएको छ । स्थायी समाधानका लागि अब दिर्घकालीन योजना सहितको स्तरीय सडक निर्माण अपरिहार्य रहेको स्थानीयहरूको माग छ ।
👉 रिपोर्ट : ईभा मिडिया
No comments:
Post a Comment