Header Ads Widget

Descriptive alt text

धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा निमार्चोक आधारभूत विद्यालय उत्कृष्ट! कुशल नेतृत्वले बदलियो नतिजा

धादिङ, २०८२ मंसिर ७ गते।

धादिङ जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ मा अवस्थित निमार्चोक आधारभूत विद्यालय हालै गाउँपालिकाद्वारा पुरस्कृत तथा सम्मानित भएको छ। गाउँपालिकाले शुक्रबार आयोजना गरेको एक भब्य औपचारिक कार्यक्रममा शैक्षिक सत्र २०८१ को कक्षा ८ को नतिजाको आधारमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरू मध्ये निमार्चोक आधारभूत विद्यालय प्रथम स्थान हासिल गर्दै सम्मानित भएको हो।


गाउँपालिकाले शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि गर्ने उद्देश्यले उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीहरूलाई नगद पुरस्कार र सम्मान सहित प्रोत्साहन गरेको थियो। निमार्चोक आधारभूत विद्यालयले प्राप्त गरेको यो सफलताले गाउँपालिकाको शैक्षिक सुधारको अभियानमा महत्वपूर्ण खुड्किलो थपेको छ।


कुशल नेतृत्व र निरन्तर सुधार:

विद्यालयले प्राप्त गरेको यस सफलताको पछाडि प्रधानाध्यापक युवराज पन्तको कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको महत्त्वपूर्ण भूमिका रहेको स्थानीयहरूले बताएका छन्। उहाँको निरन्तरको प्रयास, शिक्षकहरूसँगको समन्वय र नवीन शैक्षिक योजनाहरूले नै विद्यालयलाई आज यो स्थानमा पुर्‍याएको हो।

निमार्चोक आधारभूत विद्यालय विगत केही वर्षयता शैक्षिक तथा भौतिक सुधारमा क्रियाशील रहँदै आएको छ:

  • भवन हस्तान्तरण: करिब पाँच वर्ष अघि (२०७६ सालमा) जाइका (JICA) द्वारा नवनिर्मित १५ कोठे सुविधा सम्पन्न भवन विद्यालयलाई हस्तान्तरण गरिएको थियो।

  • नि:शुल्क पोसाक वितरण: समाजका विभिन्न व्यक्तित्व तथा संघसंस्थाहरूको सहयोगमा विद्यालयका ८५ जना विद्यार्थीहरूलाई नियमित रूपमा नि:शुल्क विद्यालय पोसाक (ट्र्याक सुट र भेष्ट) वितरण गरिँदै आएको छ। यसले विद्यार्थीलाई नियमित विद्यालय आउन उत्प्रेरणा जगाएको विद्यालयले जनाएको छ।

  • अक्षयकोष स्थापना: समाजसेवीहरूद्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई सहयोग गर्ने उद्देश्यले अक्षयकोष समेत स्थापना गरिएको छ।

  • गाउँपालिकाको अनुगमन: गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीहरूले यस विद्यालयको नियमित अनुगमन तथा निरीक्षण गरी शैक्षिक सुधारका लागि चासो देखाएका छन्।


प्रधानाध्यापक युवराज पन्त भन्नुहुन्छ , "विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायको सक्रिय सहभागिता तथा गाउँपालिकाको शैक्षिक नीतिले नै विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो।" स्थानीय सरकारले शिक्षामा दिएको प्राथमिकताले   बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पारेको छ।





Post a Comment

0 Comments