अनलाइन एप्सको मनपरी सञ्चालनले ट्याक्सी व्यवसाय जोखिममा, चालक भन्छन्, “हाम्रो श्रमको मूल्य शून्य हुँदैछ”
काठमाडौं ,२८ कार्तिक
सहरका बत्ती झिलिमिलि सडकहरू,अत्यधिक मानव आगमन, ट्राफिकको असह्य आवाज र यात्रुको दैनिक चहलपहलबीच ट्याक्सी चलाउनेहरूका आँखामा पछिल्लो समय चमक भन्दा बढी चिन्ताको रेखा देखिन थालिएको छ।
अनलाइन ट्याक्सी एप्लिकेशनहरूको बढ्दो प्रभाव र अत्यधिक कम भाडा दरका कारण मिटर ट्याक्सी व्यवसाय नै संकटको मोडमा पुगेको चालकहरूको गुनासो छ। सरकारद्वारा तोकिएको मिटर भाडालाई भन्दा निकै कम दरमा सेवा दिने एप्सले ट्याक्सी चालकको श्रम, समय र लगानीलाई अवमूल्यन गरिरहेको उनीहरूको आरोप छ।
एक चिन्तित ट्याक्सी चालक, जसको अनुहारमा थकान र पीडाको मिश्रण थियो, भन्छन् “हामीले सरकारको नियम मान्छौँ, मिटर चलाउँछौँ, तर एपले मनलाग्दी भाडा राखेपछि हाम्रो श्रमको मूल्य शून्यजस्तै बनेको छ। गैरकानुनी रूपमा निजी सवारीले भाडा उठाउँदा हामीजस्ता वास्तविक ट्याक्सी व्यवसायीको पहिचान नै संकटमा छ।”
उनका अनुसार अब अवस्था केवल प्रतिस्पर्धाको मात्र होइन, अस्तित्वको बनिसकेको छ।“हामी २४ घण्टा सडकमा हुन्छौँ। कहिले ट्राफिक, कहिले मौसम, कहिले यात्रुको दबाब। तर निजी गाडीले एपको नाममा जति चाह्यो त्यति कम भाडा राखेर चलाउँछ। नियम त हामीलाई मात्र हो कि?”
सहर बिचल्लीमा छ, र त्यसको सबैभन्दा कडा प्रभाव ती स्टेरिङ घुमाउँदै परिवार चलाउने हातहरूमा परेको छ।
साँझ ढलिसकेको बेला घर फर्कँदा रिक्त क्याबिनमा केवल टायरको आवाज रहन्छ, त्यस आवाजसँगै मिसिन्छ भविष्यप्रतिको डर र अनिश्चितता।
गैरकानुनी निजी सवारी सञ्चालन : अर्को ठूलो चोट
ट्याक्सी चालकहरू भन्छन्, एपको कम भाडा मात्र होइन, निजी सवारीले खुलेआम व्यवसायिक यात्रु बोक्नु पनि ठूलो समस्या हो।“जसका सवारीमा नितान्त ‘निजी’ नम्बर प्लेट छ, उनीहरूले सार्वजनिक सवारी जसरि यात्रु बोक्छन्, हामीलाई भने सानो गल्ती हुँदा पनि कारवाही हुन्छ । यस्तो असमान ब्यबहार कति दिन सहनु अब अत्ति भैसक्यो ?”
सरकार संग माग : नियमन होस्, ट्याक्सी व्यवसाय जोगियोस्
ट्याक्सी चालकहरूको संयुक्त माग छ
-
अनलाइन एपहरूको भाडा सरकारले तोकेको मापदण्डभित्र रहोस्
-
निजी सवारीद्वारा व्यावसायिक सेवा कडाइका साथ रोकियोस्
-
मिटर ट्याक्सी व्यवसाय सुरक्षित राख्न दीर्घकालीन नीति बनोस्
ट्याक्सी व्यवसाय कुनै धनी बन्ने माध्यम होइन, परिवार चलाउने भरोसा हो।समयमै नियमन भएन भने हजारौँ ट्याक्सी चालकको जीवनयात्रा कठिन मोडमा धकेलिने खतरा बढ्दै गएको छ। सरकारले समय मै ध्यान दिईयोस् ।
0 Comments