Header Ads Widget

Descriptive alt text

पूर्व एआईजी विश्वराज पोखरेल रास्वपामा प्रवेश, अनुशासन आयोगको जिम्मेवारी दिने तयारी

काठमाडौँ ,१३ मङ्सिर

नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित एक कार्यक्रमका बीच उनी औपचारिक रूपमा पार्टीमा प्रवेश गरेका हुन्।




रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डीपी) र अन्य नेताहरूले पोखरेललाई घण्टी बजाएर र टीका लगाइदिएर पार्टीमा स्वागत गरे। पार्टी स्रोतका अनुसार, पोखरेललाई रास्वपाको अनुशासन आयोग को जिम्मेवारी दिने तयारी भइरहेको छ।

सुशासनका लागि राजनीतिमा आएँ
पार्टी प्रवेशपछि बोल्दै पोखरेलले मुलुकको बेथिति र अन्यायलाई टुलुटुलु हेरेर बस्न नसकेकाले सक्रिय राजनीतिमा आएको बताए। उनले भने, “राजनीतिक प्रतिबद्धताविना सुशासन, विकास र भ्रष्टाचार नियन्त्रण सम्भव छैन। देशका समस्याहरूलाई समाधान गर्न र सुशासनको पक्षमा उभिन मैले रास्वपा रोजेको हुँ।”

उनले आफू कुनै पदको लोभले नभई देशको अवस्था बदल्ने हुटहुटीले राजनीतिमा होमिएको स्पष्ट पारे।

को हुन् पोखरेल?
विश्वराज पोखरेल नेपाल प्रहरीका चर्चित अधिकृत मानिन्थे। २०७९ सालमा तत्कालीन देउवा सरकारले उनीभन्दा जुनियर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेपछि उनले असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले सरकारको निर्णय सदर गरेपछि उनले एआईजी पदबाट राजीनामा दिएका थिए।

आईजीपी बन्ने दौडमा रहेका पोखरेलले प्रहरी सेवाबाट राजीनामा दिएपछि लामो समय मौनता साँधेका थिए। पछिल्लो समय उनी सामाजिक र राजनीतिक विषयमा खुल्दै आएका थिए।

उनको प्रवेशले रास्वपालाई सुरक्षा मामिला र सङ्गठन विस्तारमा फाइदा पुग्ने विश्लेषण गरिएको छ।

Post a Comment

0 Comments