काठमाडौं, २४ कात्तिक
सरकारले विद्यार्थीलाई लक्षित गर्दै मासिक रु. ५०० मा इन्टरनेट चलाउन पाउने सुविधा ल्याएपछि, उपत्यका भित्रका ट्याक्सी चालकहरूले पनि सो सुविधा आफूहरूलाई समेत उपलब्ध गराउन माग गरेका छन् ।
उनीहरूका अनुसार अहिले करिब १५ हजार ट्याक्सी चालकहरू उपत्यकाभित्र अनलाइन मार्फत यात्रु बुकिङ जीपीएस ट्र्याकिङ्, डिजिटल भुक्तानी मा निर्भर छन् । त्यसैले उनीहरूले विद्यार्थी सरह पेशागत रूपमा अनलाइनमा आधारित भएकाले सरकारले ट्याक्सी चालकलाई पनि सस्तो इन्टरनेट प्याक दिनु पर्ने माग गरेका छन् ।
ट्याक्सी चालक विकास श्रेष्ठका अनुसार, “हामीहरू २४ सै घण्टा अनलाइनमा रहन्छौं, किनकि हाम्रो पेशा नै अनलाइन प्रणालीमा चलेको छ । अहिलेको डेटा प्याक महँगो भएकाले महिनाको ठूलो हिस्सा इन्टरनेटमै खर्च हुन्छ । सरकारको योजना विद्यार्थीका लागि मात्रै होइन, हाम्रो जस्तो श्रम–आधारित पेशामा पनि लागू गर्नुपर्छ,” उनले भने ।
चालकहरूले प्रस्ताव गरेका छन् कि यस्तो सुविधा चालकको ड्राइभिङ् लाइसेन्स वा संघ, संस्थाले जारी गरेको परिचयपत्रका आधारमा उपलब्ध गराउन सकिन्छ,यसले वास्तविक व्यवसायीलाई मात्र सुविधा पुर्याउने र अनावश्यक दुरुपयोग रोक्ने उनीहरूको भनाइ छ ।
नेपाल टेलिकमले हाल विद्यार्थीका लागि मात्र मासिक रु. ५०० मा विशेष डेटा प्याक सुविधा ल्याएको छ , सो सुविधा विस्तार गर्दै, ट्याक्सी, सार्वजनिक यातायात मा संलग्न व्यक्तिहरूलाई पनि समावेश गर्न सकिने सुझाव चालकहरूले दिएका छन् ।
उनीहरूको भनाइमा, यस्तो योजना कार्यान्वयन भएमा ट्याक्सी चालकहरूको पेशागत सहजता बढ्ने, डिजिटल सेवामा पहुँच बलियो हुने र अनलाइन बुकिङ् प्रणालीलाई थप व्यवस्थित गर्न मद्दत पुग्नेछ ।
हाल सरकार र दूरसञ्चार सेवा प्रदायकबीच विद्यार्थी–केन्द्रित डेटा प्याकबारे मात्र सम्झौता भएको छ तर, यातायात क्षेत्रमा रहेका चालकहरूको डिजिटल निर्भरता र इन्टरनेट खर्चलाई ध्यानमा राखी “पेशा–आधारित डेटा प्याक योजना” ल्याउनुपर्ने माग उच्च रूपमा उठ्न थालेको छ ।
0 Comments