Header Ads Widget

Descriptive alt text

सन्तोष परियारको चेतावनी: 'एकता नभए देश जनताको नरहन सक्छ'

काठमाडौं, मंसिर ७ गते

नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले मुलुकको वर्तमान राजनीतिक अवस्थामा सबै शक्ति एकताबद्ध हुन नसकेमा देश जनताको नरहन सक्ने गम्भीर चेतावनी दिनुभएको छ।

आज काठमाडौंमा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै परियारले उक्त धारणा व्यक्त गर्नुभएको हो।



'देश बचाउन सामूहिक चेतना आवश्यक'

विभिन्न वामपन्थी, लोकतान्त्रिक र प्रगतिशील विचार बोक्ने समूहहरूबीच एकता भएर नयाँ पार्टीको घोषणा भएको सन्दर्भमा नेता परियारले मुलुकको राजनीतिक इतिहासले यो दिनलाई विशेष रूपमा सम्झने दाबी गर्नुभयो।

"हामी अहिले एक व्यक्ति, एक समूह वा एक पार्टी बनाउन भेला भएका होइनौँ। यदि हामी सबै सामूहिक रूपमा उठेनौँ, सबै संकीर्णता र स्वार्थबाट माथि उठेर एकतामा बाँधिएनौँ भने यो देश जनताको नरहन सक्छ," नेता परियारले भन्नुभयो।

उहाँले नेपालको राजनीतिमा नयाँ पुस्ताको चेतना र 'जेन जेड' आन्दोलनले नयाँ ढोका खोलिदिएको बताउँदै अबको चुनौती राज्यको गुमेको विश्वास फर्काउनु रहेको धारणा राख्नुभयो।

संविधान र लोकतन्त्रमाथि खतरा

नेता परियारले वर्तमान समयमा संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने खतरा रहेको र संविधानमाथि पनि धेरै प्रकारका संकटहरू आइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले यसै कारणले देशको भविष्य सुनिश्चित गर्न प्रगतिशील र लोकतान्त्रिक धारका सबै शक्तिहरूलाई एकै ठाउँमा आउन आह्वान गर्नुभयो।

नवगठित यस पार्टीमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी आएका सन्तोष परियार लगायतका समूहहरू समाहित भएका छन्।





Post a Comment

0 Comments