टोखा काठमाडौँ ,१८ मङ्सिर २०८२
राजधानीको उत्तरी क्षेत्र टोखा यतिबेला यमरी पूर्णिमाको रंगीन माहोलले झनै झुलुक्किएको छ। स्थानीय नेवारी समुदायले मनाउने महत्वपूर्ण सांस्कृतिक चाड यमरी पूर्णिमाको अवसरमा टोखा नगरपालिका यतिबेला आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ।
सडकका दुबै छेउमा सजाइएका स्थानीय स्टलहरूमा कर्मशील हातहरूबाट तयार भइरहेका यमरी तथा विभिन्न परम्परागत नेवारी परिकारका सुगन्धले टोखा पूरै उत्सवमय देखिन्छ। स्थानीय बासिन्दाहरू आफैँ सक्रिय बनेर यी परिकारहरू पकाउने, सजाउने र बेच्ने काममा व्यस्त छन्।
विशेषगरी चामलको पीठोभित्र चाकु र तिल राखेर बनाइने मौलिक यमरी चाडको प्रमुख आकर्षण बनेको छ। स्टलहरूमा यमरिका लागि दिनभरै भीड लागेको छ भने माग धेरै भएकाले लगातार तयार पार्नै मुस्किल परेको स्थानीय व्यापारीहरू बताउँछन्।
यसैगरी, छोइला, बारा, चटामारी, आलुका परिकार लगायतका लोकप्रिय नेवारी खानाहरू पनि स्टल–स्टलमा ताजा र स्वच्छ रूपमा पस्किँदै आएका छन्। मौलिक स्वाद चाख्ने उत्सुक भीडका कारण प्रायः सबै स्टलहरूमा लामो लर्को देखिनु सामान्य दृश्य बनेको छ।
यमरी पूर्णिमाले दशौं पुस्तादेखि चलिआएको टोखाको मौलिक संस्कृति, नेवारी परम्परा र खानाका पहिचानलाई अझ जीवन्त बनाएको छ। यसले स्थानीय व्यवसायीहरूलाई उत्साहित गरेको छ भने सांस्कृतिक पर्यटन प्रवर्द्धनमा पनि उल्लेखनीय योगदान पुगेको छ।
तस्बिरहरु :-
0 Comments