काठमाडौँ ,१९ मङ्सिर २०८२
उपत्यकामा बढ्दो ट्राफिक जामलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले नयाँ व्यवस्था लागू गरेको छ। अबदेखि काठमाडौँ उपत्यकामा चल्ने सबै लामो दूरीका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा सरकारले तोकेका बसपार्कबाट मात्रै छुट्नुपर्ने नियम लागू गरिएको ट्राफिक महाशाखाले जनाएको छ।
नयाँ व्यवस्था अनुसार रिङरोड, मुख्य चोक, साइड रोड वा अनधिकृत स्थानबाट लामो दूरीका बस छुट्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। यसअघि अनियमित रूपमा विभिन्न स्थानबाट बस छुट्दा भीडभाड, सडक जाम तथा दुर्घटना जोखिम बढेको भन्दै सुधारको उद्देश्यसहित यो निर्णय लागू गरिएको हो।
ट्राफिक महाशाखाका अनुसार निर्धारित बसपार्कबाट मात्रै बस छुटेपछि यात्रुहरु सुरक्षित र सहज रूपमा गन्तव्यतर्फ जान सक्नेछन्। साथै सडक अनुशासन र यातायात व्यवस्थापनमा प्रभावकारी सुधार हुने अपेक्षा गरिएको छ।
यही व्यवस्था कार्यान्वयनका लागि ट्राफिक प्रहरीले कडा अनुगमन गर्ने बताएको छ। नियम उल्लङ्घन गर्ने सवारीसाधन तथा चालकलाई कारबाही गरिने चेतावनी समेत दिइएको छ।
0 Comments