सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्जालमार्फत फैलिने गलत तथा भ्रामक समाचार नियन्त्रण गर्नका लागि ‘फ्याक्ट–चेक टास्क फोर्स’ गठन गर्न निर्देशन दिएका छन्।
शनिबार प्रेस काउन्सिल नेपालका पदाधिकारीहरू सँगको छलफलमा मन्त्री खरेलले “सामाजिक सञ्जालमा आउने समाचार सही वा गलत हुन् भन्ने छुट्याउन अब फ्याक्ट–चेक अत्यावश्यक भएको” बताउँदै एक हप्ताभित्र टास्क फोर्स गठन गर्न निर्देशन दिएका हुन्।
उनका अनुसार, पछिल्ला दिनमा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरेर जिउँदो व्यक्तिलाई मरेको र मरेका व्यक्तिलाई जिउँदो भनेर समाचार बनाइने जस्ता घटना बढेका छन्, जसले समाजमा भ्रम फैलाइरहेको छ। उनले भने, “यस्ता गलत सूचना र अफवाह रोक्न अब ठोस कदम चाल्नुपर्छ।”
मन्त्री खरेलले प्रेस काउन्सिललाई निष्पक्ष र न्यायपूर्ण संस्था बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गर्दै थपे, “मलाई कुनै नेता वा कार्यकर्ताको दबाब छैन, न त म आफ्ना मान्छे भर्ती गर्न चाहन्छु। संस्थाको गरिमा र विश्वसनीयता बढाउन सबैले न्यायमूर्ति जस्तै जिम्मेवार हुनुपर्छ।”
उनले काउन्सिललाई सञ्चार माध्यमको मर्यादा र विश्वसनीयता कायम राख्ने ‘न्यायालय’को रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए।
No comments:
Post a Comment